• Home
  • Search
  • व्याकरणगत वैशिष्ट्य ऋग्वेदका मन्त्रहरूमा
  • https://doi.org/10.3126/jorh.v2i1.87045Copy DOI Icon

व्याकरणगत वैशिष्ट्य ऋग्वेदका मन्त्रहरूमा

Show More
  • Abstract
  • Literature Map
  • Similar Papers
Abstract

अनन्त कालदेखि निरवच्छिन्न रूपमा प्रवाहित हुँदै आइरहेको वाङ्मय परम्पराको पूर्व र पश्चिम दुवैतिर समृद्ध र सम्पन्न विरासत देखापर्छ । पश्चिमभन्दा पूर्व यस धारामा अझ फराकिलो र व्यापक छ । पौरस्त्य परम्परामा वैदिक वाङ्मय नै ज्ञान, विज्ञान, ऋषि, देवता, यज्ञ, युद्ध, भाषा, कला, साहित्य, इतिहास, आयुर्वेद, ज्योतिषलगायत सम्पूर्ण कुरामा भरिपूर्ण, अकाट्य र अपरिवर्तनीय ज्ञान राशिका रूपमा स्थापित भएको छ । तैत्तिरीयब्राह्मणमा ‘अनन्ताः वै वेदाः’ भन्दै वेदको व्यापकता र अनन्तताको ख्यापन गर्ने आर्ष वाक्यहरूद्वारा पनि वैदिक वाङ्मयको महनीयतालाई पुष्टि गरेको देखिन्छ । वैदिक वाङ्मय पछाडिका सबै इतिहास, पुराण र स्मृति ग्रन्थहरूले वेदलाई नै अनुसरण गरेका छन् । सम्पूर्ण वाङ्मय परम्पराहरू भाषामा जीवन्त रहेका हुन्छन् । विशेष गरी पौरस्त्य वाङ्मय परम्परा भाषिक प्रयोगका दृष्टिले विविधतापूर्ण देखिए तापनि व्याकरणका दृष्टिले अत्यन्त परिनिष्ठित देखिन्छ । वैदिक परम्परा हुँदै विकसित भएका इतिहास, पुराण, दर्शन, स्मृति, धर्मशास्त्र, आगम सबै भाषामा अडिएका छन् । यिनीहरू सबैको भाषामा परिनिष्ठितता भईकन पनि व्यापक भिन्नता देखापर्छ । संहिता, ब्राह्मण, आरण्यक र उपनिषद्मा प्रयोग भएको भाषा वैदिक भाषा हो । वैदिक वाङ्मय पछाडिका सबै आर्ष ग्रन्थहरू लौकिक भाषामा संरचित छन् । विभाजनका सन्दर्भमा वेदलाई ऋक्, यजुस्, साम, अथर्व भनी विभाजन गरिए तापनि यो विभाजन प्रतिपाद्य विषयवस्तु र संरचनागत आधारमा विभाजन गरिएको देखिन्छ । भाषिक संरचना र व्याकरणिक नियमको पालना सबैमा समान रूपमा भएको छ । अध्ययनका क्रममा ऋग्वेदलाई सर्वप्राचीन वेद, समृद्ध वेद, ज्ञान विज्ञानले भरिपूर्ण वेद भन्दै गर्दा ऋग्वेद नै वैदिक संहिताको समष्टि उद्घोष हो भन्न सकिन्छ । प्रारम्भमा वेदको पर्यायका रूपमा ऋग्वेद देखा परे तापनि समग्र वेदलाई चार भागमा विभाजन गरेपछि भने स्वतन्त्र रूपमा ती ती वेदहरूका अङ्ग प्रत्यङ्गहरूको समेत अध्ययन अध्यापन गर्ने परम्परा अद्यावधि छ । विभक्त चार संहितामध्ये ऋक्संहिता सबैभन्दा प्राचीन र ठूलो संहिता हो । इन्द्र, वरुण, विष्णु, अग्नि आदि गरिएका प्राकृतिक वस्तुको र वैदिक याग यज्ञको राम्रो निरूपण यसमा पाइन्छ । अष्टक र मण्डल क्रम गरी दुई भागमा विभाजन गरिएको यस वेदमा अष्टक क्रमअनुसार ६४ अध्याय छन् भने मण्डल क्रमअनुसार १० मण्डल छन् । यसरी समग्र ऋग्वेदमा ८५ अनुवाक र १०२८ सूक्तहरू छन् । यी सूक्तहरूमध्ये पुरुषसूक्त, नासदीयसूक्त, विवाहसूक्त र अक्षसूक्तलगायतका केही सूक्तहरूमा विद्यमान भाषिक संरचनाको अध्ययन प्रस्तुत सन्दर्भमा गरिएको छ । वैदिक प्रातिशाख्यको पाणिनीय व्याकरणसँगको आन्तर्यलाई विवेचना गरिएको छ । विशेष गरी ऋग्वेदको भाषा र पाणिनिको भाषामा तुलना गरी त्यसमा विद्यमान समास, सन्धि, तिङन्त, कृदन्त, तद्धित, स्वर आदिको समानता र पार्थक्यलाई नै प्रस्तुत अनुसन्धानमा स्पष्ट पारिएको छ । उदाहरणका लागि नासदीय सूक्तको पहिलो सूक्त–“नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो व्योमा परो यत् ।किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ।।”पाणिनीय व्याकरणअनुसार कस्य शर्मन् यहाँ सप्तम्यन्त शर्मणि हुनुपर्नेमा वेदमा विभक्तिको लोप भएर शर्मन् यस्तो प्रयोग भएको छ । विभक्तिको लोप भए तापनि शेष पदले लोप भएको विभक्तिको अर्थलाई बताउने गर्छ । यही मन्त्रमा लौकिक व्याकरणमा किम् शब्दबाट सप्तम्यर्थमा त्रल् प्रत्यय भए पछि कुत्र बनाइन्छ भने वेदमा त्यही अर्थका लागि हप्रत्यय गरेर कुह बनाइएको छ । यसै गरी पुरुषसूक्तको १२औँ मन्त्रमा पनि मुखम्, बाहू, ऊरू पदहरूमा विभक्तिको लोप भएको छ । यी र यस्तै भाषिक संरचनाको अध्ययन प्रस्तुत अनुसन्धानमा गरिएको छ ।

Cactus Communications logo

Copyright 2026 Cactus Communications. All rights reserved.